FAQs Complain Problems

समृद्धिको लबिङमा जीतपुरसिमराका मेयर

जीतपुरसिमरा उपमहानगरपालिकाको सम्भावना र चुनौतीका सन्दर्भमा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन काठमाण्डौं पुगेका मेयर डा. कृष्ण पौडेलले भेटघाट र पहललाई तीव्रता दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ गठवन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डसंग भेटेर बजनी घटनाको यथार्थ बाहिर ल्याउन ध्यानाकर्षण गर्दै समृद्धिको योजना बुझाएपछि डा. पौडेलले मन्त्रीहरुसंग भेटघाट र छलफल गरिरहेका छन । 

अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर डा. पौडेलले जीतपुरसिमरा उपमहानगरपालिका राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरु, पूर्वाधारकमी र समृद्धि सम्भावना बोकेको राष्ट्रकै एक महत्वपूर्ण उपमहानगर भएकोले विकास बजेटमा प्राथमिकता दिन आग्रह गरेका छन । भेटमा डा. खतिवडाले जीतपुरसिमरा उपमहानगरपालिका र मेयरको प्रयासको सराहना गर्दै आफु सहयोग गर्न तयार रहेको बताएका छन् । 

बारा र पर्साका किसानको मुख्य समस्याको रुपमा रहेको मकैमा दाना नलाग्ने समस्या लिएर कृषी मन्त्रालय पुगेर मेयर डा. पौडेलले कृषी मन्त्री बलदेव खनाललाई भेट गरेर ध्यानाकर्षण गराएका छन् । प्रत्येक बर्ष किसानले भोग्नुपरेको समस्याको बारेमा मन्त्रीलाई जानकारी गराउदै मेयर डा. पौडेलले उचित क्षतिपूर्तिका लागि पहल गर्न समेत आग्रह गरेका छन् । मेयर डा. पौडेलले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसंग भेट गरेका छन । भेटमा मेयर डा. पौडेलले राष्ट्रिय गौरवका आयोजनासंगै सिमरा–कोल्हवी सडक खण्ड पुरा गर्न, जीतपुर–फत्तेपुरलगायत सडक सञ्जाल र ठुला पुलहरु निर्माणमा प्राथमिकता दिन ज्ञापनमार्फत आग्रह गरेका छन् । भेटमा एमालेका केन्द्रीय सल्लाहकार अच्युत मैनाली, कोल्हवीका मेयर भरत भण्डारी, माओवादी केन्द्रका राजन पौडेल, नेपाली कांग्रेसका ओम कार्की, एमालेका देवनारायण चौधरी र कृष्ण खनाललगायत सहभागी थिए ।  

मेयर डा. पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटेर तत्काल कर्मचारी पठाउनका लागि आग्रह गरेका छन । यसैगरी शिक्षा मन्त्री गिरीराजमणी पोखरेलसंगै भेट गर्दै उनले शिक्षकहरुको अपुग तलव तत्काल पठाउन, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा बहुप्राविधिक कृषि विद्यालय स्थापना, प्राविधिक शिक्षालयहरु स्थापना र समग्र शिक्षा क्षेत्रको सुधारका लागि आग्रह गरेका छन । त्यस्तै पर्यटन मन्त्री रविन्द्र अधिकारीसंग डा. पौडेलले दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन, टांगियाबस्तीको उचित पुनव्र्यवस्थापन गर्न र चुरिया–अमलेखगंज–पथलैया विशेष पर्यटन क्षेत्र बनाउनका लागि प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन । 

ओली नेतृत्वको अधिकांश मन्त्रीलाई भेट गर्दै समृद्धिको खाका प्रस्तुत गरेका मेयर डा. पौडेलले रक्षामन्त्री इश्वर पोखरेलसंग भेटेर नेपाली सेनाले निर्माण गरिरहेको तराई काठमाण्डौं एक्सप्रेस हाइवेलाई समयमा नै पुरा गराउन जोड दिएका छन । यसैगरी मेयर डा. पौडेलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्दै बधाई ज्ञापन गरेका छन् । 
 

लोकेशन